Section 17
सदस्य-सचिव सम्बन्धी
: (१) परिषद्को कार्यकारी प्रमुखको रुपमा काम गर्न परिषद्मा एकजना सदस्य-सचिव रहनेछ ।

(२) सदस्य-सचिवको पदमा नियुक्ति हुन देहाय बमोजिमको योग्यता भएको हुनु पर्नेछ :-

(क) नेपाली नागरिक,

(ख) नेपाल सरकारबाट मान्यताप्राप्त विश्वविधालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण

भएको,

(ग) खेलकुदको क्षेत्रमा कम्तीमा पाँच वर्ष काम गरेको,

(घ) प्रचलित कानूनले अयोग्य नभएको,

(ङ) तीस वर्ष उमेर पूरा भएको ।

(३) मन्त्रालयले उपदफा (२) बमोजिम योग्यता पूरा भएका व्यक्तिमध्येबाट सदस्य- सचिवको पदमा नियुक्तिको लागि सिफारिस गर्न मन्त्रालयको सचिवको संयोजकत्वमा मन्त्रालयले तोकेको सम्बन्धित क्षेत्रका एकजना महिला सहित दुईजना विज्ञ रहेको तीन सदस्यीय सिफारिस समिति गठन गर्नेछ ।

(४) उपदफा (३) बमोजिमको सिफारिस समितिले उपदफा (२) बमोजिमको योग्यता पूरा भएका व्यक्तिहरुमध्येबाट सदस्य-सचिवको नियुक्तिको लागि एकजना महिला सहित तीनजना उपयुक्त व्यक्तिको नाम मन्त्रालयमा सिफारिस गर्नेछ ।

(५) उपदफा (४) बमोजिम सिफारिस गर्दा अवलम्बन गर्ने प्रक्रिया तथा आफ्नो बैठक सम्बन्धी अन्य कार्यविधि सिफारिस समिति आफैँले निर्धारण गरे बमोजिम हुनेछ ।

(६) मन्त्रालयले उपदफा (४) बमोजिम सिफारिस भएका व्यक्तिमध्येबाट सदस्य-सचिव नियुक्ति गर्न नेपाल सरकार, मन्त्रिपरिषद्‌ समक्ष पेश गर्नेछ ।

(७) उपदफा (५) बमोजिम मन्त्रालयबाट पेश भए बमोजिमका व्यक्तिहरुमध्ये नेपाल सरकार, मन्त्रिपरिषद्ले उपयुक्त ठानेको व्यक्तिलाई सदस्य-सचिवको पदमा नियुक्ति गर्नेछ ।

(८) उपदफा (७) बमोजिम नियुक्त सदस्य-सचिवको पदावधि चार वर्षको हुनेछ र निज अर्को एक पटकको लागि पुनः नियुक्त हुन सक्नेछ ।

(९) उपदफा (८) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको कुनै अवस्थामा सदस्य-सचिवलाई नेपाल सरकार, मन्त्रिपरिषद्ले जुनसुकै बखत पदबाट हटाउन सक्नेछः-

(क) परिषद्लाई हानि नोक्सानी हुने कुनै काम गरेमा,
(ख) पदीय जिम्मेवारी पूरा नगरेमा,

(ग) यस ऐन विपरीत कुनै कार्य गरेमा, वा

(घ) निजले इमान्दारीपूर्वक जिम्मेवारी वहन नगरेमा, निजको कार्यसम्पादन सन्तोषजनक

नरहेमा, निजमा कार्यक्षमताको अभाव भएमा वा पद अनुरुपको आचरण नगरेमा वा परिषद्को निर्देशन पालना नगरेमा ।

(१०) उपदफा (९) बमोजिम सदस्य-सचिवलाई पदबाट हटाउनु अघि निजलाई सफाई पेश गर्ने मनासिब मौका दिनु पर्नेछ ।

(११) देहायका अवस्थामा सदस्य-सचिवको पद रिक्त भएको मानिनेछ:-

(क) निजले अध्यक्ष समक्ष लिखित राजिनामा दिएमा,

(ख) गैर नेपाली नागरिक भएमा वा कुनै विदेशी मुलुकको स्थायी बसोवासको अनुमति

लिएमा वा सोको लागि निवेदन दिएमा,

(ग) निजको उमेर साठी वर्ष पूरा भएमा,

(घ) निर्वाचनद्वारा नियुक्त हुने कुनै सार्वजनिक जवाफदेहीको पदमा उम्मेदवार भएमा,

(ङ) भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागू औषध बिक्री

वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरूपयोग, अपहरण सम्बन्धी कसूर, सङ्गठित अपराध वा नैतिक पतन देखिने फौजदारी कसूरमा सजाय पाएको वा अन्य कुनै फौजदारी कसूरमा एक वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएकोमा,

(च) उपदफा (९) बमोजिम पदबाट हटाइएमा,

(छ) राष्ट्रको प्रतिनिधित्व गरी विदेश गएकोमा भागेको र पछि फर्केर आएको प्रमाणित

भएमा,

(ज) निजको मृत्यु भएमा ।

(१२) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै कारणले सदस्य- सचिवको पद रिक्त भएमा वा कुनै कारणले निलम्बन भएमा अर्को सदस्य-सचिव नियुक्ति वा निजको निलम्बन फुकुवा नभएसम्मको लागि मन्त्रालयले संघीय निजामती सेवाको राजपत्रांकित प्रथम श्रेणीको कर्मचारी वा परिषद्को वरिष्ठतम्‌ कर्मचारीलाई सदस्य-सचिवको रुपमा कामकाज गर्ने गरी तोक्न सक्नेछ ।

(१३) सदस्य-सचिवको पारिश्रमिक, सुविधा तथा सेवाको अन्य शर्त तोकिए बमोजिम हुनेछ । यसरी सदस्य-सचिवको पारिश्रमिक तथा सुविधा नतोकिएसम्म निजले नेपाल सरकारले तोके बमोजिमको पारिश्रमिक तथा सुविधा पाउनेछ ।